काठमाण्डौ । कार्तिक २२ गतेका दिन नेपाल युवा परिषद र होमस्टे महासंघ नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त समझदारी पत्र नेपाल युवा परिषदको तर्फबाट महासचिव रचना खरेल र होमस्टे महासंघ नेपालको तर्फबाट सचिव गंगादेवी हायजुले सम्झौता पत्र आदनप्रदान गरेको थियो ।

७ बुदाँमा तयार पारेको समझदारी पत्रमा दुवै संस्था एक्येबद्ध भई युवाहरुलाई होमस्टे व्यवसायमा कसरी आर्कर्षित गर्न सकिन्छ, युवाहरु माझ होमस्टे कसरी प्रचारप्रसार गर्ने, स्थानीय तथा रैथाने खानेकुराहरुको संरक्षण, प्रबद्र्धनमा युवाहरुको सहभागीतालाई अझ बढाएर लैजाने जस्ता कुराहरु समावेश गरिएको छ । एकतिर दैनिक हजारौंको संख्यामा युवाहरु नेपालमा अवसरहरु नदेखेर बैदेशकि भुमिमा जानु अर्कातिर नेपालमा प्रचुर सम्भावना बोकेको होमस्टेलाई नेपाली युवाहरुले नदेखि रहेको अवस्थामा नेपाल युवा परिषद र होमस्टे महासंघ नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

६७ जिल्लामा फैलिएको होमस्टे महासंघ नेपाल र ७७ वटै जिल्लामा फैलिएको नेपाल युवा परिषदले पर्यटन, त्यसमाथि पनि आन्तरिक पर्यटनलाई प्रमुख प्राथमिकतामा राखि आगामी दिनहरुमा थप रचनात्मक कार्य गर्ने कुरा समेत उल्लेख गरिएको छ । बिशेषत परम्परागत ज्ञान र सिपमा आधारित कला संस्कृति तथा प्रविधिहरुको खोज तथा अनुशन्धान गरी अभिलेखिकरण राख्ने सम्मको कार्य दुबै संस्था मिलि गर्ने भनि उल्लेख गरिएको कुरा नेपाल युवा परिषदका महासचिव रचना खरेलले बताउनुभयो । त्यसैगरी महासचिव खरेलले यो निकै खुशिको दिन हो यसले युवाहरुमा थप नयाँ ज्ञान तथा सीप हस्तान्तरण हुने र आन्तरीक पर्यटन समेत नयाँ तवरबाट प्रचारप्रसार हुने कुरा व्यक्त गर्नु भयो । महासंघका बरिष्ठ उपाध्यक्ष बाबुराजा महर्जनले यो समझदारीले कुनै एउटा कार्यक्रमको लागि मात्र भन्दा पनि ५ बर्ष सम्म दिगो रणनितिका कार्यहरु समेत गर्ने गरी दुबै संस्था एक साझा मंचमा उभिएको हो त्यसैले हामीले आगामी दिनहरुमा अझै राम्राराम्रा कार्यक्रमहरु ल्याउने समेत बताउनुभयो ।
महासंघका सल्लाहाकार एवं रैथाने एग्रि प्रडक्ट्सका अध्यक्ष तिलक ढकालले दुबै संस्था बिच स्थानीय स्तरमा रहेको रैथाने खाना तथा परिकारहरुलाई संरक्षण एवं संबद्र्धन गर्ने गरी समझदारी हुनुले नेपालको रैथाने खाने कुराहरुको संरक्षण तथा प्रबद्र्धन नयाँ कोशोढुङ्गा सावित हुने कुरा राख्नु भएको थियो । साथै यो संम्झौता पत्रमा ३ वटै तहका सरकारहरुसँग नेपाली युवाहरुको क्षमता तथा दक्षता विकास र उद्यमशीलता विकासका लागि संयुक्त स्पमा पहल गर्ने जस्ता कुराहरु समेत उल्लेख गरिएको छ ।
असोज २५ देखि २७ सम्म चितवनको माडीमा होमस्टे महासंघ नेपालको चौथो राष्ट्रिय महाधिबेशनबाट पारित घोषणापत्रमा समेत होमस्टे मार्फत रैथाने कृषि, कला सिप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्ग लगायत सबैलाई संलग्न गराउदै गाँउगाँउमा रोजगार सृजना गर्न पहल गर्ने जस्ता १२ बुदाँहरु सम्मेलित माडी घोषणा पत्र घोषणा गरेको थियो ।

नेपाल युवा परिषद राष्ट्रिय स्तरको गैरसरकारी युवाहरुको क्षेत्रमा काम गर्ने अग्रिणी युवा संस्था हो । यसले राष्ट्रिय स्तरमा राष्ट्रिय युवा सम्मेलन र प्रदेश स्तरमा प्रदेश युवा सम्मेलन गरी बिभिन्न कार्ययोजनाहरु निर्माण गरी संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाई बुझाउनुको साथै युवाहरुको उत्कृष्ट कार्ययोजनालाई सिड फण्ड समेत दिने गरेको कुरा नेपाल युवा परिषदको केन्द्रिय सदस्य आयुष न्यौपानेले बताउनुभयो ।
महासंघका सल्लाहाकार एवं पर्यटन वोर्डको पूर्व वोर्ड सदस्य कृष्ण कुमार अर्यालले समेत यो सम्झौताले आगामी दिनहरुमा पर्यटन तथा रैथाने खाना संरक्षणमा निकै ठुलो काम गर्नेछ र युवाहरुलाई परिचालन गरी प्रचारप्रसार समेत हुने कुरामा जोड दिनु भएको थियो ।
नेपाल युवा परिषदले तिहार छठ पर्व पछि सात वटै प्रदेशहरुमा प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ र यस सम्मेलनमा होमस्टे महासंघको सयुक्त एक्यबद्धता रहेको छ जहाँ हरेक प्रदेशमा २२० जना युवाहरुको सहभागीता रहनेछ ।